नेपाली समय Loading...२०८२ मंसिर १६ मंगलवार

तीनदिन देखी सुमो गाडी सहित बेपत्ता भएका केसी मृत फेला

ओखलढुङ्गान्युज, मंशिर १६ काठमाण्डौं । बिगत तीनदिन देखी आफैले चलाएको सुमो गाडी सहित बेपत्ता भएका ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसी मृत फेला परेका छन् । सुमो गाडी सहित नै बेपत्ता भएका केसीको शब उदयपुरको कटारी नगरपालिका १४ पाखेमारा भीरमा भेटिएको हो।

ना १ ज ५८१२ नं. को सुमो लिएर १३ गते शनिबार केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनी हिँडेका थिए । रुपाटारमा विवाहका लागि जन्ती जान रिजर्भ भएकाले केसी एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा ‘इन्ट्री’ गरेर आएका केसी रातिदेखि सम्पर्कविहीन भएका थिए ।

कटारी नगरपालिका वडा नं. १४ घुर्मी नजिकसम्म आइपुगेको जानकारी गराएपछि उनी बेपत्ता भएको सिन्धुलीको दूधौलीमा रहेकी केसीका श्रीमती सुशीला कार्कीले बताइन् । बेपत्ता भएका केसीको लगातार फोन लाग्ने तर नउठ्ने भएपछि स्थानीय, प्रहरी लगायतले कटारी– १४ आसपासमा आईतवार देखी नै खोजी गरेका थिए । खोजी गर्ने क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा केसीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार बेपत्ता भएका केसीको खोजी गर्ने क्रममा सोमबार साँझ सडकबाट करीब तीन सय मिटर तल सुमो क्षतिग्रस्त रूपमा भेटिएको थियो । क्षतिग्रस्त सुमो भेटिएपछि खोजीका क्रममा भिरमा अड्किएको अबस्थामा केसीको शव भेटिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । केसीको शवलाई प्रहरीले मध्यराति नै भिरबाट निकालेर शव परीक्षणका लागि कटारी अस्पताल पु¥याएको छ ।