नेपाली समय Loading...२०८२ माघ १ बिहीबार

लिखुमा सातौ राष्ट्रपति रनिङशिल्ड मंशिर २४ बाट हुने

ओखलढुङ्गान्युज, मंशिर १४ यसम । लिखु गाउँपालिका यसम ओखलढुङ्गाले यहि मंशिर महिनाको अन्तिम हप्तामा लिखु गाउँपालिकाको सातौं अन्तरमाद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मंशिर २४ देखी २६ गते सम्म ग्रामोदय युगकवि सिद्धिचरण माविमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाको शैक्षिक क्यालेन्डरमा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन अर्को महिनामा भएपनि मंशिरमा नै प्रतियोगिता सञ्चालन गर्न लागेको हो । विगतका वर्षहरुमा गाउँपलिकाको शिक्षा शाखाले नै प्रतियोगिता सञ्चालन गर्ने गरेको भएपनि यसपटक भने गाउँपालिकाका माद्यमिक विद्यालयहरु मध्ये छनौट गरेर एक विद्यालयलाई कार्यक्रम सञ्चालन गर्न दिने तयारी थियो ।

पालिकाको सोहि सूचना अनुसार सातौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्न ग्रामोदय युगकवि सिद्धिचरण माविले मात्र प्रस्ताव पेश गरेपछि यसपटक सोहि माविले आफ्नै खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्नेछ । प्रत्येक वर्ष गाउँपालिकामा रहेका छुट्टाछुट्टै माविलाई क्रमश प्रतियोगिता सञ्चालन गर्न दिने योजना अनुसार यसपटक ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङ्गटारलाई दिईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार छात्रछात्रा दुवै तर्फ भलिवल, कबड्डी, एथ्लेटिक्सको दौड तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ४×१०० मिटर र ४×४०० मिटरमा प्रतिष्पर्धा हुनेछ । उफ्रने, फ्याक्ने तर्फ हाईजम्प, लङजम्प, ज्याभलिङ थ्रो र सटपुटका विधा रहने पालिकाले सूचना जारी गरि जनाएको छ । पालिकाको सूचना अनुसार १५०० मिटर र ३ हजार मिटर दौड तथा त्रिपलजम्प विधा भने प्रतियोगितामा समाबेश गरेको छैन ।

प्रतियोगिताको भलिबल खेलेकाले कबड्डी तथा कबड्डी खेलेकाले भलिबल विधामा सहभागी हुन नपाएपनि उनीहरुले एथ्लेटिक्स विधामा सहभागी हुन पाउने पनि पालिकाको सूचनामा उल्लेख छ । त्यस्तै खेलमा सहभागी हुने छात्रछात्राले एथ्लेटिक्समा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा मात्र सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।