नेपाली समय Loading...२०८२ मंसिर १२ शुक्रबार

महाधिबेशन प्रतिनिधी छनौट प्रकृयामा ओखलढुङ्गामा ओली समूहको विरोध

ओखलढुङ्गान्युज, मंशिर १२ ओखलढुङ्गा । नेकपा एमालेको ११ औं केन्द्रिय महाधिबेशनमा सहभागी हुनका लागि अहिले जिल्ला जिल्लाबाट महाधिबेशन प्रतिनिधीको छनौट प्रकृया भैरहेको छ । देशका ७७ ओटै जिल्लामा एकैपटक निर्वाचन तालिका सार्वजनिक गर्दै एमालेले महाधिबेशन प्रतिनिधी छनौट गर्दैछ ।

महाधिबेशन प्रतिनिधी छनौटका क्रममा कतिपय जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधीको छनौट भएको छ भने कतिपय जिल्लामा हालका पार्टी अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलको दुईओटा ग्रुप बनेर विवाद भएपछि प्रतिनिधी छनौट प्रकृया निर्वाचन तर्फ धकेलिएको छ ।

यसैक्रममा ओखलढुङ्गामा पनि महाधिबेशन प्रतिनिधी छनौट प्रकृयाको क्रममा ओखलढुङ्गा एमालेको टीम प्रष्ट रुपमा दुई कित्तामा विभाजन भएको छ । यस अगाडी भित्रभित्र मात्र गुटबन्दीमा रहेको एमाले ओखलढुङ्गाको टीम ११ औं राष्ट्रिय महाधिबेशनमा भने प्रतिनिधी छनौटका क्रममा सतहमा नै दुई गुटमा विभाजन भएको छ ।

दुई कित्तामा विभाजन भएको एमालेको ओली गुटको नेतृत्व यज्ञराज सुनुवारले गरेका छन् भने पोखरेल गुटको नेतृत्व अम्बिरबाबु गुरुङले गरेका छन् । नवौं जिल्ला अधिबेशनमा ओली समूहमा देखिएका जिल्लाका अधिकांश नेताहरु अहिले गुट परिवर्तन गरेर पोखरेल समूहमा लागेका हुन् । प्रतिनिधी छनौटमा पाखरेल समूहले दबदबा कायम गरेपछि त्यसको विरोध गर्दै महाधिबेशन छनौट प्रक्रिया अन्तर्गत निर्वाचन कार्यक्रम ओली समूहले शुक्रबार मायरा होटलमा पत्रकार सम्मेलन गर्दै अस्वीकार गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले ओखलढुङ्गाका उपसचिव समेत रहेका अस्मिता थापाले पार्टी केन्द्रको निर्वाचन कार्यतालिका अनुसार प्रकृया अघि बढिरहेको बेला महाधिबेशन प्रतिनिधी बन्न ईच्छुक उमेदवारहरुको आग्रह विपरित पोखरेल गुटले पार्टीको सर्कुलर, स्थापित मान्यता विपरि।त अवाञ्छित गतिबिधी गरेको आरोप लगाईन् । प्रतिनिधी छनौट सर्वसम्मत नभएको अबस्थामा सबै पालिकाका पार्टी सदस्यले मतदानमा सहभागी हुन पाउनुपर्ने भन्दै पालिका कमिटिका ईञ्चार्जहरुले गरेको लिखित आग्रहलाई जिल्ला पार्टीले बेवास्ता गरेपछि केन्द्र र प्रदेश संगठन विभागले समस्याको तत्काल सम्बोधन गरि जिल्लामा परिपत्र गरेको बताईन् ।

तर जिल्ला नेतृत्वले संगठन विभाग प्रमुखको निर्देशन अस्विकार गर्ने, मातहतका कमिटिको माग नमान्ने, प्रदेश कमिटीको परिपत्रलाई अटेर गरी एमालेको संगठनात्मक सिद्धान्त र प्रक्रिया विपरित छनौट प्रक्रिया हुन सक्दैन भनेर आफूले पदाधिकारी बैठकमा विमती राख्दै गर्दा समेत सिमित व्यक्तिको स्वार्थ पूरा गर्न तयार गरिएको कथित निर्वाचन प्रक्रियालाई आफूले अस्विकार गर्ने बताईन् । पालिका कमिटिले संस्थागत रुपमा भाग नलिने भनिसकेको स्थिती र बहुसंख्या सदस्यलाई बाहिर राखेर गरिने निर्वाचन प्रक्रिया तत्काल रोकेर विभागको परिपत्र र निर्देशन अनुसार नै प्रतिनिधी छनौट गर्नुपर्ने समेत थापाले बताईन् ।

पत्रकार सम्मेलनमा मोहन कुमार श्रेष्ठले पालिका कमिटीहरुको जायज मागलाई बेवास्ता तथा केन्द्र तथा प्रदेशको संगठन विभागको परिपत्रलाई समेत लात हानेर जिल्ला निर्वाचन कमिटिले सदरमुकाम मात्रै मतदान केन्द्र हुनेगरि सूचना प्रकाशन गरेको भन्दै त्यसको विरोध गरे । प्रदेश कमिटि, केन्द्रिय संगठन विभागको निर्देशन अनुसार निर्वाचन कमिटिले जारि गरेको सूचना संशोधन गरि पालिका स्तरमा नै मतदानको ब्यबस्था नगरे आफूहरु प्रतिनिधी छनौट प्रक्रियामा सहभागी नहुने समेत श्रेष्ठले बताए ।

उता जिल्ला कमिटिका सचिब अशोक कुमार थापाले भने जिल्ला कमिटिको निर्णय अनुसार र केन्द्र संगठन विभागको परिपत्र अनुसार नै प्रतिनिधी छनौट प्रक्रियामा आफूहरु लागेको बताए । पदाधिकारी बैठकमा समेत एकमतले निर्णय गरेर आएको बेला पार्टिका उपसचिव अस्मिता थापाले विज्ञप्ती जारि गरेको भन्दै आफू अचम्मित बनेको थापाले बताए । ओली गुटका साथिहरुसँग शुक्रबार विहान ११ बजेदेखी छलफल गर्ने भनेर आफूहरु कार्यालयमा नै रहेको भएपनि उहाँहरु ११ नबज्दैदेखी सम्पर्क विहिन भएर पत्रकार सम्मेलनको नाटक गरेको समेत सचिव थापाको आरोप छ ।

तत्काल पालिका पालिकामा गएर निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधी छनौट गर्न सम्भव नभएकोले जिल्ला कमिटिको बैठकले नै जिल्ला सदरमुकाममा मतदान केन्द्र राख्ने निर्णय गरेको बताए । जिल्ला कमिटिको निर्णय अनुसार नै शनिवार विहान ८ बजेबाट जिल्ला समन्वय समितिको सभाहलमा मतदान प्रक्रिया हुने उनले बताए ।

पत्रकार सम्मेलनमा उपलब्ध गराईको विज्ञप्तीमा मतदान प्रक्रिया अस्विकार गर्ने पक्षमा १७ जनाले हस्ताक्षर गरेका छन् भने ३ जनाले आफूहरु उपस्थित हुन नसकेपनि पत्रकार सम्मेलनमा ऐक्यबद्धता जनाएका छन् । महाधिबेशन प्रतिनिधी हुन उमेद्वारी दिएका ४१ जना मध्ये ती हस्ताक्षर गर्ने र ऐक्यबद्धता जनाउने २० जना नै उम्मेदवार हुन् ।

११ औं राष्ट्रिय महाधिबेशनमा ओखलढुङ्गाबाट खुला तर्फ ६ जना, महिला ४ जना, दलित १ जना तथा ३० वर्ष मुनीका १ जना गरी १२ जना प्रतिनिधी सहभागी हुन पाउनेछन् । ओखलढुङ्गामा हाल नेकपा एमालेका ७ हजार २ सय क्रियाशिल सदस्य रहेकाछन् ।