खिजिदेम्बा : आठौं राष्ट्रपति रनिङशिल्डको उपाधी फूलमतीलाई
ओखलढुङ्गान्युज, मंशिर ७ खिजिफलाटे । खिजिदेम्बा गाउँपालिकामा सम्पन्न भएको खिजिदेम्बा गाउँपालिका अन्तर माद्यमिक विद्यालय स्तरीय आठौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधी फुलमती मावि खिजिफलाटेले जितेको छ । फुलमती माविले १० स्वर्ण, ७ रजत र २ कास्य सहित कूल १९ पदकका साथ उपाधी जितेको हो ।

त्यस्तै प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ कास्य पदकका साथ कूल १९ पदकका साथ चण्डेश्वरी मावि रगनी दोश्रो तथा ५ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित कूल १६ पदकका साद कुण्डली मावि कातिसञ्जोर तेश्रो बनेको छ । त्यस्तै प्रतियोगितामा आयोजक हिमगंगा मावि रावादोलु ४ स्वर्ण, ७ रजत र ७ कास्य सहित कूल १८ पदकका साथ चौथो स्थानमा रहन पुग्यो ।

चण्डेश्वरी मावि माझगाँउले पनि १ स्वर्ण, २ रजत र ३ कास्य सहित कूल ६ पदकका साथ पाचौं स्थानमा रहन पुग्यो । नर्मदेश्वर मावि चप्लेटीले भने १ स्वर्ण र ५ कास्य पदक सहित कूल ६ पदकका साथ छैठौं बन्न पुग्यो भने शिवालय मावि छेर्मादिङ पात्लेले भने यस पटक कुनैपनि पदक तालिकामा खाता खोल्न सकेन । विगत दुई वर्ष लगातार प्रथम भएको फुलमती मावि खिजिफलाटेले यस पटक पनि प्रथम स्थानमा कायम रहदै रनिङशिल्ड पच गरेको छ ।

कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पाले राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८२ खिजिदेम्बा गाउँपालिकामा नै गर्नलाई प्रस्ताव गरिएको बताए । तर पालिकामा सबै ईभेन्टको खेल नभएकोले यसपटकको प्रतियोगिता अन्य पालिकाले गरेपनि अर्को बर्ष भने खिजिदेम्बा गाउँपालिकाले सबै विधाको खेल समाबेश गराएर जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खिजिदेम्बा गाउँपालिकामा नै गराउने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा हिमगंगा मावि रावादोलुका लिला सुनुवार र फुलमती मावि खिजीफलाटेकी खेम कुमारी सुनुवार (सुन्दीरा) उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता खिजिदेम्बा गाउँपालिकाको प्रायोजन तथा हिमगंगा मावि रावादोलुको आयोजनामा खिजीदेम्बा गाउँपालिका ५ बोजेटारको खेल मैदानमा सम्पन्न भएको हो । प्रतियोगिता मंशीर ४ देखी ६ गतेसम्म सञ्चालन भएको थियो ।

