नेपाली समय Loading...२०८२ मंसिर ३ बुधबार

खुला वडा स्तरीय पुरुष भलिबलको उपाधि चिउरीडाँडालाई

ओखलढुङ्गान्युज, मंशिर ३ खाल्टे । माटेबेशीमा सम्पन्न पाँचौ खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि लिखु गाउँपालिका १ चिउरीडाँडाले जितेको छ । जनजागरण युवा क्लब खाल्टेले सिद्धेश्वर महादेव मन्दिर परिसरमा बालाचतुर्दशी मेला २०८२ को अवसर पारेर आयोजना गरेको पाँचौ खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो । 

लिखु गाउँपालिका १ चिउरीडाँडाले लिग चरणमा आफुलाई पराजित गर्ने लिखु गाउँपालिका ७ गाम्नाङ्टारलाई नै २-० को सोझो सेटमा पराजित गरेको हो । लिग चरणको पहिलो खेलमा लिखु गाउँपालिका ७ ले लिखु गाउँपालिका १ लाई प्रतिष्पर्धात्मक खेलमा २-१ सेटले पराजित गरेको थियो । उपाधिसँगै चिउरीडाँडाले नगद रु ६० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगितामा दोश्रो बनेको गाम्नाङ्टारले नगद रु ४० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा तेश्रो स्थानका लागि भएको खेलमा चम्पादेवी गाउँपालिका २ पलापुले लिखु तामाकोशी गाउँपालिका २ शैपुलाई २-० कै सोझो सेटमा पराजित गरेको छ । शैपुलाई पराजित गर्दै पलापुले नगद रु २० हजारसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना भएका शैपुले पनि नगद रु १० हजार प्राप्त गरेको छ । 

निकै कडा प्रतिस्पर्धा भएको पहिलो सेमिफाइनल खेलमा लिखु ७ गाम्नाङ्टारले लिखु तामाकोशी गाउँपालिका २ सैपुलाई २-० ले नै पराजित गरेको थियो। प्रतियोगिताको पहिलो सेटमा २३-१७ मा रहेको गाम्नाङ्टारले नतिजालाई उल्टाउँदै २७-२५ को जित दर्ता गर्यो । त्यस्तै दोस्रो सेटमा पनि १८-९ मा रहेको गाम्नाङ्टारले नतिजालाई उल्टाउँदै २५-२१ ले जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा लिखु गाउँपालिका १ चिउरीडाँडाले चम्पादेवी गाउँपालिका २ पलापुलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै फाइनलमा लिखु गाउँपालिका ७ गाम्नाङ्टारसँगको भेट पक्का गरेको थियो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चिउरीडाँडाका जर्सी नम्बर ६ का तेजबहादुर खड्का ( इकू) बन्न सफल भए । प्रतियोगितामा बेस्ट सर्भर लिखु १ का रबिन मगर, बेस्ट डिफेन्डर चम्पादेवी २ का निरोज मगर, बेस्ट सेटर लिखु १ का कृष्ण खड्का, बेस्ट सेटर लिखु ७ का प्रकाश पौडेल, बेस्ट ब्लकर लिखु ७ कै प्रविण खत्री बन्न सफल भए ।

कार्तिक २९ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता मङ्सिर २ गते सम्पन्न भएको हो । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका पूर्व सभामुख तथा ओखलढुङ्गा प्रदेश सभा ख का माननीय बाबुराम गौतम, विशिष्ट अतिथि लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्की, लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा लगायतले शिल्ड, मेडल र प्रमाणपत्रका साथमा नगद प्रदान गरेका थिए ।