नेपाली समय Loading...२०८२ कार्तिक २९ शनिबार

माटेबेसीमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु 

ओखलढुङ्गान्युज, कात्तिक २९ यसम । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ खाल्टेको माटेबेसीमा आजबाट खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बाला चतुर्दशी जात्रा २०८२ को अवसर पारेर खाल्टेमा रहेको जनजागरण युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । 

प्रतियोगितामा ओखलढुङ्गाका १० वटा र रामेछाप जिल्लाका आठवटा गरी १८ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले प्रतियोगिताका निर्णयक प्रादेशिक भलिबल रेफ्रीद्वय अनुप राई र शेरबहादुर मगरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

आज कार्तिक २९ देखि सुरु भएको भलिबल प्रतियोगिताको फाइनल खेल भने मङ्सिर २ गते हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा रामेछाप नगरपालिका ३ साँघुटारले विजयी सुरुवात गरेको छ । साँघुटारले लिखु गाउँपालिका ५ यसमलाई २-० को सोझो सेटमा पराजित गर्दै विजययात्रा तय गरेको हो । प्रतियोगिता अन्तर्गतको दोस्रो खेल आइतबार बिहान ७ बजे लिखु गाउँपालिका वडा नम्बर १ चिउरीडाँडा भर्सेस लिखु गाउँपालिका वडा नम्बर ७ गाम्नाङटारका बीच हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रु ६० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद रु ४० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रतियोगितामा तेस्रो हुने टिमले नगद रु २० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । सान्त्वना अर्थात् चौथो हुने टिमले पनि नगद रु १० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिता लिखु गाउँपालिका वडा नं ६ खाल्टे माटेबेसीमा रहेको सिद्धेश्वर महादेव मन्दिरको अगाडि सञ्चालन भइरहेको छ । 

प्रतियोगिताको समापनको दिन अर्थात् फाइनल खेल सँगसँगै हुने बालाचतुर्दशी जात्रा महोत्सव मङ्शीर २ को कार्यक्रम लाई भव्य र सभ्य बनाउनका लागि चर्चित ख्याति प्राप्त लोक तथा दोहोरी गीतका गायक सिद्धार्थ आले मगर र निरा थापा मगर पनि माटेबेसीमा आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।