राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुङ्गाको अध्यक्षमा गदाईली निर्वाचित

ओखलढुङ्गान्युज, कातिक २३ नर्मदेश्वर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुङ्गाको अध्यक्षमा लिखुका दीर्घ गदाईली निर्वाचित भएका छन् । शनिवार लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर महादेव मन्दिरको प्राङ्गणमा भएको प्रष्ठिानको छैठौं जिल्ला अधिबेशन तथा १३औं बार्षिक साधारण सभाबाट लिखु गाउँपालिका ३ नर्मदेश्वर स्थायी घर भएका गदाईलीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति सर्बसम्मत निर्वाचित भएको हो ।
नवनिर्बाचित समितिको प्रथम उपाध्यक्षमा विष्णुमाया श्रेष्ठ (सिमा), द्वितिय उपाध्यक्षमा सिद्धार्थ आलेमगर र महिला उपाध्यक्षमा अम्बिका लुईटेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा पूर्ण वि.क., सहसचिवमा अर्जुन घिमिरे, कोषाध्यक्षमा रोशन बुढाथोकी , सहकोषाध्यक्षमा अजय नेपाली रहेका छन् । त्यस्तै सदस्यहरुमा शर्मीला खड्का, राजेश बुढाथोकी मनिशा खड्का लगायतका रहेका छन् । नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलका सदस्यहरु प्रतिष्ठानका केन्द्रिय उपमहासचिव शिरिष देवकोटा, कोशी प्रदेश अध्यक्ष रोम घिमिरे, ओखलढुङ्गाका संस्थापक अध्यक्ष विष्णु घिमिरेले सपथ ग्रहण गराउदै शुभकामना प्रदान गरेका थिए ।

शनिबार दिउँसो भएको उद्घाटन कार्यक्रम अन्तर्गत बृहत सांस्कृतिक कार्यक्रममा कलाकारहरुले आ–आफ्नो प्रतुती समेत राखेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । उपस्थित दर्शकहरुलाई प्रतिष्ठानका सदस्य कलाकारहरुसँगै लिखु स्थानीय सांस्कृतिक कलाघरका कलाकारहरुले पञ्चेबाजा सहित कला प्रतुती गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय उपमहासचिब देवकोटा, कोशी प्रदेश अध्यक्ष घिमिरे, लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्की, चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी, लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा लगायत अतिथीहरुले शुभकामना मन्तव्य दिएका थिए ।

