नेपाली समय Loading...२०८२ कार्तिक १८ मंगलवार

सुसाईड नोट लेखेर बेपत्ता श्री मावि राकाथुमकी कर्मचारी भेटिईन

ओखलढुङ्गान्युज, कातिक १९ रामेछाप स्क्यामरको फन्दामा परेर घर छाडेर हिडेकी श्री मावि राकाथुमकी कर्मचारी शोमबार साँझ फेला  परेकी छन् । स्क्यामरका कारण मानसिक टचर भएपछि सुसाईड नोट लेखेर आईतबार विहान देखी बेपत्ता भएकी रामेछाप जिल्ला खाडादेवी गाउँपालिका वडा नं. १ मा रहेको श्री मावि राकाथुमकी विद्यालय कर्मचारी आशा लामा सकुशल फेला परेकी हुन् ।

एक भारतीयले तलाई २५ लाखको बेलायती चिठ्ठा पर्यो भनेर ह्वाट्सएपमा म्यासेज आएसँगै उक्त २५ लाख लिन लामाले झण्डै ८ लाख गाउँमा विभिन्न ब्यक्तिहरुसँग चर्को व्याजमा ऋण लिएर स्क्यामरलाई बुझाएको सुसाईड नोटमा उल्लेख गरेकी थिईन् । विभिन्न बहानामा धेरै रकम स्क्यामरलाई बुझाएपछि स्क्यामरले पैसा माग्न नछाडेको र आफू फसेको थाहा पाएपछि परिवार समेत समस्यामा पर्न सक्ने आकलन भएपछि मानसिक टचरका कारण उनी सुसाईड गर्न तयारी भएको सुसाईड नोटमा उल्लेख छ ।

छोरा पनि बैदेशीक रोजगारमा रहेको र आईतबार राती देखी नै घरमा रहेकी बुहारी हराएपछि लामाका शशुराले तत्काल विद्यालय, वडा अध्यक्ष, तथा नजिकैको प्रहरीलाई खबर गरेर खोजी कार्य तिब्र बनाएका थिए । खोजीका क्रममा रामेछापका सञ्चार माद्यम लगायत सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दै व्यापक खोजी कार्य भएको थियो । खोजीका क्रममा बेपत्ता लामा शोमबार साँझ माईती घरमा पुगेपछि माईतीले घरपरिवार र वडा अध्यक्षलाई जानकारी गराएका थिए ।

माईतीले खबरसँगै बेपत्ता लामा फेला परेको खाँडादेवी गाँउपालिका वडा नं. १ राकाथुमका वडा अध्यक्ष रामकुमार श्रेष्ठले पुष्टि गरे । लामा माइतीमा आईपुगेको खबरसँगै मंगलबार विहानै घरपरिवारबाट लामाको शशुरा सहित राकाथुमका केही स्थानीय जनप्रतिनिधी समेत लामाको माईती घरतर्फ लागेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय सामाजिक सञ्जाल मार्फत विभिन्न स्क्यामरहरुले लोटरी, चिठ्ठा पर्यो भन्दै चिठ्ठाको रकम लिन सम्बन्धितले पैसा बुझाउनु पर्ने भन्दै ठगीको क्रम बढेकोले सतर्क रहन र त्यस्तो म्यासेज वा  ईमेलको पछि नलाग्न समेत वडा अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।