अविरल बर्षातले विपि राजमार्ग अबरुद्ध
ओखलढुङ्गान्युज, कातिक १४ नेपालथोक । विहिबार विहानै देखी परेको अविरल बर्षातका कारण नेपालको पूर्वी भागलाई जोड्ने विपि राजमार्ग विहिबार बेलुकी देखी पूर्ण रुपमा अबरुद्ध भएको छ । अविरल बर्षातका कारण विपि राजमार्गको विभिन्न स्थानमा आएको लेदोका कारण दुई तर्फी नै पूर्ण रुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
विपि राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना र नार्केलगायतको स्थानहरूमा माथिबाट पहिरो तथा लेदो खसी दुईतर्फी सडक अवरोध भएको छ। वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिए ।
बाटो अबरुद्ध बनेपछि अहिले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, रामेछाप लगायत पूर्वि नेपालका विभिन्न जिल्लाहरुबाट काठमाण्डौ तर्फ जादै गरेका मालबाहक तथा यात्रुबाहक सवारी साधनहरु बिच बाटामा नै रोकिएका छन् । त्यस्तै उक्त राजमार्ग प्रयोग गर्दै काठमाण्डौंबाट बाहिरीने सवारी साधनहरु अहिले भकुन्डेबेशीमा रोकिएका छन् । अवरुद्ध सडक सहज बनाउन विहानै देखी प्रयास भैरहेको भएपनि समय लाग्ने प्रहरीले जनाएको छ ।
बाटो अबरुद्ध भएकोले बाटोको अबस्था बुझेर मात्र यात्रा गर्न समेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।


 
																					