अमादब्लम हिमाल आरोहणका क्रममा दुई पर्यटकको मृत्यु
ओखलढुङ्गान्युज, कातिक १० काठमाण्डौं । अमादब्लम हिमाल आरोहण गर्ने क्रममा शुक्रबार दुई जना विदेशी पर्यटकको मृत्यु भएको छ । पर्यटन विभागले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै अमादब्लम हिमाल आरोहणका क्रममा दुई जना विदेशी आरोहीको निधन भएको जानकारी दिएको हो ।
आईतबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार अमादब्लम हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिक मिस्टर ह्युगो लुसियो कोलोनिया लाजारोको निधन भएको हो । गत कातिक ६ गते अमादब्लम हिमालको सफल आरोहण गरेका लाजारो फर्कने क्रममा अचानक स्वास्थ्यमा समस्या आई अस्वस्थ बन्न पुगेका थिए । अस्वस्थ्य बनेका लाजारोलाई क्याम्प ३ बाट हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौंको ह्याम्स अस्पतालमा उपचारका लागि पुर्याईएको थियो । उपचारका क्रममा लाजारोको कातिक ७ गते अस्पतालमा नै मृत्यु भएको पर्यटन विभागले जनाएको छ । लाजारो एच.भी. इन्टरनेशनल माउन्ट अमादब्लम एक्सपिडिसन २०२५ अटम दलका सदस्य थिए ।
त्यस्तै अमादब्लम हिमाल आरोहणका लागि विभागबाट अनुमति प्राप्त एट के इन्टरनेशनल अमादब्लम एक्सपिडिसन दलका सदस्य कोरियन नागरिक मिस्टर हङ ख्या पार्क को पनि अमादब्लम हिमाल आरोहण गर्ने क्रममा कार्तिक ९ गते क्याम्प १ र क्याम्प २ को बीचमा मृत्यु भएको विभागले जनाएका छ । पर्यटन विभागले दुवै जनाको मृत शरीरको व्यवस्थापनका लागि सम्बन्धित मुलुकमा फिर्ता गर्न एजेन्सीसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।

