आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ बजे
ओखलढुङ्गान्युज, कात्तिक ६ काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाइँदैछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।
दिदीबहिनीले टिका लगाइदिइसकेपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
आज भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । तर आज उत्तम साइत पछि पनि दिनभर टीका लगाउन कुनै बाधा नपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले बताए ।
यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यस दिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।