मोलुङमा दशैंपछि बजार अनुगमन
ओखलढुङ्गान्युज, असोज ३० प्राप्चा । जिल्लाको मोलुङ गाउँपालिकाले आफ्नो गाउँपालिकाको विभिन्न बजारको अनुगमन गरेको छ । अनुगमन गर्ने क्रममा गाउँपालिकाका उपाध्यक्ष उर्मीला खतिवडाको नेतृत्वको टोलीले मंगलबार गाउँपालिकाको रामपुरमा रहेको बजार अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा टोलीले बजारबाट म्याद गुज्रीएका खाद्यजन्य तथा अन्य सामाग्रीलाई नियन्त्रण गरि नष्ट गरिएको बजार अनुगमनमा सहभागी मोलुङ गाउँपालिकाको रोजगार कार्यक्रम संयोजक माधव कार्कीले जानकारी दिए । रामपुरमा दर्जनौंको संख्यामा होटल तथा पसलहरु रहेको भएपनि प्रतिनिधी मूलक रुपमा केहि पसलहरुमा मात्र अनुगमन गरिएको थियो ।
बजार अनुगमन पश्चात देखिएका त्रुटीहरुलाई सच्याउन, म्याद गुज्रिएका सामाग्रीहरुले नागरिकको स्वास्थ्यमा खेलबाड हुनेहुँदा त्यस्ता सामाग्रीहरु बेचविखन नगर्न, सरसफाईमा ध्यान दिन ब्यावसायीहरुलाई निर्देशन दिइएको पनि कार्कीले जानकारी दिए । अर्को पटकको अनुगमनका क्रमममा समेत यस्तै कमजोरी भेटिएमा आवश्यक कार्बाहीका लागि सम्बन्धित निकायमा कार्बाहीका लागि सिफारिस गर्ने समेत चेतावनी दिईएको कार्कीले जानकारी दिए ।
बजार अनुगमनको विषयलाई लिएर सेवाग्राही नागरिकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपय नागरिकहरुले दशैं अगाडी गर्नुपर्ने अनुगमन म्याद गुज्रीएको सामान गाउँगाउँमा सप्लाई भैसकेपछि पालिकाले आँखामा छारो हाल्न दर्शै सकिएपछि अनुगमनको नाटक भएको बताएका छन् । केहि नागरिकले भने ढिला भएपनि गाउँपालिकाले अनुगमन गरेको र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।