ओमानलाई हराउदै नेपाल छनोट प्रतियोगिताको उपाधिको नजिक
ओखलढुङ्गान्युज, असोज ३० काठमाण्डौं । बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले सहजै पराजित गर्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ । नेपालले जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायम राख्दै उपाधिको नजिक पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्य खेलाडीले भने खासै राम्रो रन जोड्न सकेनन् । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो ।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । यो जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । जीतसँगै नेपाल छनौट प्रतियोगिताको उपाधी नजिक पनि छ । नेपालले आईतवार यूएईलाई तथा शोमबार कतारलाई पराजित गरेको थियो । नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।
ओमानलाई पराजित गरेसँगै नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ ।