कतार बिरुद्ध नेपालको रोमाञ्चक जित
ओखलढुङ्गान्युज, असोज २८ काठमाण्डौं । गएराति भएको नेपाल भर्सेस कतार बिचको खेलमा नेपालले ५ रनको रोमाञ्चक जित निकालेको छ । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतार विरुद्ध ५ रनको रामोमाञ्चक जित दर्ता गरेको हो ।
नेपालले सुपर सिक्स अन्तर्गतको तेस्रो खेलमा कतारविरुद्धको खेलमा मध्यक्रमका ब्याटर चल्न नसक्दा लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन । लक्ष्य अनुसार उत्कृष्ट योगफल बनाउन नसकेपनि सन्दीप लामिछानेको सानदार बलिङसँगै ५ विकेट लिदा नेपालले ५ रनको अर्को रोमाञ्चक जित हासिल गरेको हो ।
सुरुमा टस जितेर कतारले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको थियो । विजय लक्ष्य सहित ब्याटिङ गर्न आएको कतारले सुरुवाती ओभरमा लगभग जित सुनिश्चित जस्तै गरि रन बनाएको थियो । १३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो ।
सात ओभरमा अर्थात ४२ बलमा कतारलाई जितका लागि ४३ रन आवश्यक रहँदा नेपालको जित कल्पना बाहिरको कुरा थियो । नेपाल समर्थक दर्शकहरु निराश बन्न लागेका थिए । समर्थकहरुले सामाजिक सञ्जालमा समेत अब नेपाल हार नजिक भन्न थालिसकेका थिए । तर नेपाली खेलाडीले रोमाञ्चक खेल खेल्दै जितको मुखमा रहेको कतारसँग पाँच रनको जित हासिल गरेको हो ।
कतार बिरुद्धको उक्त जितसँगै नेपाल अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको नजिक पुगेको छ । नेपाल ६ अंकका साथ हाल अंकतलिकाको दोस्रो स्थानमा छ । अब शीर्ष स्थानको ओमानलाई हराए नेपालले विश्वकपमा स्थान बनाउनेछ ।