सोलुमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु
ओखलढुङ्गान्युज, असोज २७ सोलुखुम्बु । सोमबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लूजा खोलास्थित जलविद्युत् आयोजनाको निर्माणस्थलमा इस्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको फिक्कल गाउँपालिका वडा नं. २ का २५ वर्षीय राजकुमार दोङ रहेका छन् ।
सोलुखुम्बुको लूजा खोलामा निर्माणाधीन २६ मेगावाट क्षमताको जलविद्युत् आयोजना अन्तर्गत इन्टेक तर्फको बाटो खन्ने क्रममा प्रयोग भइरहेको एक्स्काभेटर दुर्घटना हुँदा चालक दोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । ईन्टेक निर्माणका लागि बाटो खन्ने क्रममा स्काभेटर भिरमा ३ सय मिटर भन्दा तल खसेको सोलु प्रहरीले जनाएको छ । मृतक चालक दोङ सो जलविद्युत् आयोजनामा कार्यरत स्काभेटरका अपरेटर समेत हुन् ।
घटना आईतबार साँझ भएको भएपनि मृतक दोङको शब भिरमा अप्ठ्यारो ठाँउमा रहेकोले शोमबार दिउँसो मात्र निकालिएको थियो । शोमबार विहानै हेलिकप्टरको प्रयोग गरेर शब निकाल्ने प्रयास भएको भएपनि मौसम प्रतिकूलताका कारण दिउँसो मात्रै शब निकालिएको हो । शबको कानूनी प्रकृया पुरा गरेर पोष्ट मार्टमका लागि पठाईएको र घटनाको बारेमा अनुसन्धान सुरु गरिएको पनि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।