यूएई माथि नेपालको १ रनको रोमाञ्चक जीत
ओखलढुङ्गान्युज, असोज २६ काठमाण्डौं । आज साँझ भएको खेलमा नेपाली क्रिकेट टीमले यूएई माथि रोमाञ्चक जित निकालेको छ । नेपाली क्रिकेट समर्थकहरुको मुटु ढुकढुक बनाएको खेलमा अन्ततः नेपालले यूएई माथि १ रनको रोमाञ्चक जीत निकालेको हो ।
आज सम्पन्न खेलमा दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङको सहयोगमा नेपालले यूएईलाई पराजित गर्न सफल भएको हो । नेपाललाई १ रनको जित दिलाउन ऐरीले निकै महच्वपूर्ण तीन विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरेका थिए ।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । प्रतियोगितामा कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनायो । युएईका लागि अलिशान सराफुले अर्धशतक प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्।
१९ ओभरको खेल सकिदा ६ विकेटको नोक्सानीमा १३१ रन बनाएको यूएईका लागि अन्तिम ओभरको ६ बलमा १० रन आवश्यक थियो । अन्तिम ओभरमा बलिङ गर्नका लागि दिपेन्द्र सिंह ऐरी आए । ऐरीले पहिलो बलमा एक रन दिए । दोश्रो डट राखे भने तेश्रो बलमा भने यूएईका डी परासारले छक्का प्रहार गरे । अब यूएईका लागि तिन बलमा तीन रन नै आवश्यक थियो । तीन बलमा जीतका लागि तीन रन आवश्यक परेको यूएई अब जीतको नजिक थियो भने नेपाली समर्थक निराश बन्न लागेको थिए ।
ऐरीले चौथो बल प्रहार गर्दा यूएईले सातौं विकेट खस्यो । अब यूएईलाई दुई बलमा तीन रन आवश्यक थियो । ऐरीलै पाचौं बल प्रहार गर्दा यूएईले एक रन थप्न सफल भैसकेको थियो । दोश्रो रन लिने क्रममा भने नेपाली टीमले उत्कृष्ट कला देखाउदै एच अलीलाई ० रनमा नै रनआउट गरेर अर्को विकेट लिन सफल भए । त्यपछि भने यूएई दबाबमा आयो । उसलाई एक बलमा तीन रन आवश्यक थियो । एकबलमा दुई रन ल्याए खेल सुपरओभरमा मोडिनेवाला थियो ।
खेलको अन्तिम बल बाँकी रहदा दुवै टीम निकै दबाबमा थिए भने नेपाली टीम समर्थकहरु निराश बन्न लागेका थिए । अन्तिम बलमा तीन रन चाहिएको यूएईलाई ऐरीले वाईडबल फालेर एक रन दिए भने जितको लागि आवश्यक दुई रन लिन दौडने क्रममा जेड अलीलाई रन आउट गर्दै अन्ततः नेपालले यूएई माथि रोमाञ्चक १ रनको जित निकाल्न सफल बन्यो । नेपाली टीमले आफ्ना समर्थकहरुलाई निराश हुन दिएनन् ।
ओमनमा चलिरहेको आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको हो । यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक जोडेको छ।