नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

अन्तराष्ट्रिय गस्ति अभ्यासमा नेपाली सेनालाई स्वर्ण

ओखलढुङ्गान्युज, असोज २६ विदेश । ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ । संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले यस पटक पनि स्वर्ण पदक जितेको हो ।

अक्टोबर ३ देखि अक्टोबर १२, २०२५ सम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो । गस्ती अभ्यासमा नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको नेपाली टिममा सहभागी थियो ।

गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए । यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।

सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने यो अभ्यास कठोर हुने गरी डिजाइन गरिएको छ । १० दिनसम्म ८ चरणमा विभाजित उक्त अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ ।