आज र भोली अर्थात आईतबार र शोमबार सार्वजनिक विदा
ओखलढुङ्गान्युज, असोज १९ काठमाण्डौं । नेपाल सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज र भोली अर्थात आईतबार र शोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शनिबार साँझ गृह मन्त्रालयले एक सूचना जारि गर्दै आईतबार र शोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
देशका अधिकांश स्थानहरुमा ठूलो बर्षातहरु भैरहेको र ठूलो वर्षातका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिदै दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ठूलो वर्षातका कारण हुनसक्ने सम्भावित बाढी, डुबान, भू–क्षय लगायतका जोखिम एवम् सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुन सक्ने भन्दै सार्वजनिक विदा दिएको मन्त्रालयले आज जारि गरेको सूचनामा उल्लेख छ ।
दुईदिन सार्वजनिक विदा दिईएको भएपनि विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु भने खुल्ला नै रहनेछन् । सरकारले सार्वजनिक विदा दिएपनि दशैंको विदामा रहेका कार्यालयका प्रमुखहरुलाई भने यथासिघ्र कार्यालयमा पुग्न समेत निर्देशन दिएको छ । सरकारले देशका सवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई विपदका सम्भावित घटनालाई मध्यनजर गर्दै २४ घण्टा नै कार्यालयमा रहन र उच्च सतर्कताका साथ तयारीमा रहन समेत निर्देशन दिएको छ ।
देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकाले विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ । विदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन, यात्रा नगर्न र सुरक्षित ठाउँमा बस्न समेत आम नागरिकलाई सरकारले आग्रह गरेको छ ।