लगातार बर्षातका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध
ओखलढुङ्गान्युज, असोज १८ ओखलढुङ्गा । शुक्रबार साँझदेखि परेको बर्षाका कारण शनिबार अपरान्हबाट सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सिद्धिचरण लोकमार्गको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने भडारे खोलामा लेदोसहितको बाढी आई सडकको भाग गहिरो बनाएर खोलेका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको हो ।
लोकमार्ग अवरुद्ध भएपश्चात सडक खुलाउन सडक डिभिजन कार्यालय हर्कपुरसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहे पनि उक्त क्षेत्रमा लगातार पानी परिरहेकोले गर्दा सडक खुलाउन समस्या भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गले जनाएको छ ।
सडक अवरुद्ध बनेका कारण उक्त क्षेत्र हुँदै ओखलढुङ्गा सदरमुकाम एरिया भित्र नै र बाहिरिने साना तथा ठूला सवारी साधनहरू बाटामा नै रोकिएको प्रहरीले जनाएको छ । आजदेखि सोमबार अर्थात् २० गतेसम्म देशका विभिन्न स्थानमा भीषण पानी पर्ने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाए सँगसँगै लामो दुरीको यात्रा सकभर नगर्न समेत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाको अनुरोधमा अहिले देशका पाँचवटा प्रदेशबाट लामो दुरीका सवारी साधनहरू आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । वर्षाका कारण हुन सक्ने जनधनको क्षतिलाई लक्षित गर्दै पाँचवटै प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधन आवतजावतमा रोक लगाउनका साथसाथै त्यसको अनुगमन गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।