काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो दुरीका सबै सवारी बन्द
ओखलढुङ्गान्युज, असोज १८ काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश देखि लुम्बिनी प्रदेश सम्म चट्याङ सहित हल्का देखि मध्यम बर्षात भैरहेको छ । बर्षात भैरहेसँगै आजदेखि २० गतेसम्म केहि स्थानमा अति धेरै बर्षात हुने आकलन गरेको छ ।
सामान्य देखि अति वर्षातको कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आजबाट तीन दिनसम्म कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सवारी साधनलाई सञ्चालनका लागि बन्द गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान एक सूचना प्रकाशित गरी उल्लेखित प्रदेशहरुका सबै जिल्लाबाट चल्ने लामो दुरीका सवारी साधन लाई सञ्चालनमा रोक लगाइएको जनाइएको छ । प्राधिकरणले विज्ञप्ति मार्फत उल्लेखित पाँचवटै प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सवारी साधन आवतजावत बन्द गर्न/गराउन तथा सोको निरन्तर अनुगमन र निगरानी गर्न समेत अनुरोध गरेको छ ।
शनिबार बिहानैबाट शुक्रबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौँ भित्र नै धेरै जस्तो मुख्य सडकहरुमा पहिरो खसेर बाटो अवरुद्ध बन्नका साथै खोलानालामा बाढी बढ्न थाले पश्चात सम्भावित दुर्घटनाको जोखिमलाई न्यूनीकरण गराउन यातायात बन्द गराएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सूचना मार्फत सवारी साधन चलाउन रोक लगाएका कारण यात्रु महानुभावहरूलाई पर्न गएको असुविधा प्रति क्षमा समेत मागेको छ । प्राधिकरणले विज्ञप्ति मार्फत यस अवधिमा अत्यावश्यक बाहेकका यात्रा नगर्न तथा सुरक्षित तरिकाले घरमै रहन समेत अनुरोध गरेको छ । विपत सम्बन्धीको सूचना तथा घटनाको अध्यावधिक जानकारीका लागि रेडियो टेलिभिजन अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल लगायतबाट अपडेट प्राप्त गरिरहन समेत अनुरोध गरेको छ ।