नेपाली समय Loading...२०८२ आश्विन १८ शनिबार

दुईदिन राजमार्गमा सवारी साधनमा रोक लगाउन मौषमविद्को सुझाव

ओखलढुङ्गान्युज, असोज १८ काठमाण्डौं असोज १७ देखी देशभरका अधिकांस स्थानहरुमा साना ठूला पानी परिरहेका छन् । शुक्रबार देखी नै पानी पर्न थालेपनि शनिबार दिउँसोबाट भने भिषण पानी पर्न सक्ने जल तथा मौषम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट  भिषण पानी पर्न सक्ने भएकोले भारी बर्षा प्रभावित क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम हुनसक्ने भन्दै ती स्थानहरुमा दुईदिन राजमार्ग नै बन्द गरिदिनु उपयुक्त हुने मौसमविदहरुले सुझाव दिएका छन् । सामान्य झरीका बेलामा पनि बाढीको सम्भावना र पहिरोको जोखिम रहेको क्षेत्रमा नै भारि वर्षाको सम्भावना देखिएकोले जनहितका लागि पूर्व तयारी स्वरुप राजमार्ग नै बन्द गर्न उपयुक्त हुने उनिहरुले सुझाव दिएका हुन् ।

मौसमविद्हरुका अनुसार भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ । भारतको मौसम विज्ञान विभागले शुक्रबारबाट नै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरेको छ । त्यहाँ विकसित भएको प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने मौसमविद्हरु बताउँछन् ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक अवस्था देखाए पनि गत वर्ष ११–१२ असोजकै हाराहारीमा पानी पर्ने सम्भावना रहेको मौसमविद् डा. विनोद पोखरेलले बताए । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अध्यापक पोखरेल भन्छन्, ‘चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

शनिबारदेखि नै वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेशभर नै पानी पर्नेछ । पश्चिममा बुटवल र भैरहवा देखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ ।

यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका ठाउँमा शनिबार र आइतबारसम्म सक्रिय हुँदै पूर्वी नेपालबाट बाहिरिने छ । देशभरको मौसममा क्रमिक सुधार हुन सोमबार बिहानसम्म लाग्ने मौसमविद्हरुको आँकलन छ । यसपालि भारी वर्षा हुने सम्भावित ठाउँमा काठमाडौं उपत्यका र विशेष गरी दक्षिणी भाग देखिएको छ ।

भारी वर्षाको प्रक्षेपणसँगै बीपी राजमार्ग,  काठमाडौं–हेटौंडा जोड्ने कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाइसकेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि रातको समयमा काठमाण्डौं आवतजावत नगर्न आग्रह गरेको छ ।