आज बडादशैंको महाअष्टमी, बली सहित महागौरी देवीको पूजा गरिदै
ओखलढुङ्गान्युज, असोज १४ काठमाण्डौं । आज हिन्दू धर्मावलम्बीहरुको महान चाड बडादशैं एवं नवरात्रको आठौं दिन । आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । आजको दिन मानिसहरूले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। यसैगरी दशैंघर हनुमानढोकाको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि दिइन्छ ।
विशेषगरि आजका दिन पञ्चबलि दिने प्रचलन छ। पञ्च बलिमा बोका, रागाँ, परेवा, हाँस र भेंडा पर्दछन्। तिनीहरूमा हुने बिक्रित काम, अंहकार, मोह, मद र लोभ जस्ता गलत प्रवृतिको बलि दिनुपर्ने भाव ग्रन्थहरूमा उल्लेख छ। यस्ता पशुत्व भाव हटाउन पञ्च बलिको प्रतिकात्मक उपाय निकालिएको कतिपयको भनाइ छ।