बसले मोटरसाइकललाई ठक्कर दिदा ओखलढुङ्गामा एकको मृत्यु
ओखलढुङ्गान्युज, असोज १३ ओखलढुङ्गा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा काठमाण्डौबाट आएको बसले विपरित दिशा तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ११ बस्ने बर्ष २१ का बिनोद कटवाल रहेका छन् ।
शोमबार दिउसो ४ बजेतिर सिद्धिचरण लोकमार्गको मानेभञ्ज्याङ गाँउपालिका ४ केतुकेमा काठमाण्डौंबाट ओखलढुङ्गा तर्फ आउदै गरेको बा ५ ख ८२२९ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको प्र १–०७–००१ प ०६७४ नम्बरको मोटरसाईकलसँग ठक्कर दिन पुगेको थियो । बसको ठक्करबाट मोटरसाईकलमा सवार चालक सिद्धिचरण नगरपालिका ११ का विनोद कटवाल र मोटरसाईकलको पछाडी बसेका सिद्धिचरण नगरपालिका वडा नं. ११ का बर्ष २१ कै कुमार विश्वकर्मा घाईते भएका थिए ।
दुर्घटनामा परि घाईते भएका दुवैजनालाई तत्काल उद्दार गरि जिल्ला सदरमुकाममा रहेको सामुदायीक अस्पताल सोब्रुमा पठाईएको थियो । उपचारमा लगिएका चालक कटवालको अस्पताल लैजादै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाईते विकको भने अहिले सामुदायीक अस्पताल सोब्रुमा नै उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात बसका चालक सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका २९ बर्षिय रमेश धमलालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।