नेपाली समय Loading...२०८२ आश्विन १७ शुक्रबार

ओखलढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा तीन घाइते, एकको अवस्था गम्भीर

ओखलढुङ्गान्युज, असोज ११ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारबाट चिसङ्खुगढीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । शनिबार दिउँसो २:३० बजेतिर रुम्जाटारबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ त ४१०१ नम्बरको ट्याक्टरको ट्रली खुस्किएर चिसंखुगढी गाउँपालिका ७ ठुलढुङ्गा भन्ने स्थानमा दुर्घटना हुँदा ट्रलीमा बसेका तीनजना घाइते भएका हुन् भने एकजनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरूमा चिसङ्खुगढी गाउँपालिका वडा नं. ७ बस्ने ३५ वर्षीया अन्जु बस्नेत कार्की, सोही स्थानका ३० वर्षकी कल्पना खत्री र सोही स्थानका चोलेन्द्र बस्नेतको छोरा वर्ष ११ को अनिस बस्नेत रहेको कुरा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । घाइतेमध्ये अन्जु बस्नेत कार्कीको टाउकोमा चोट लागेको कारण उनको अवस्था गम्भीर रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ट्रयाक्टर गुड्ने क्रममा अचानक ट्रली छुट्टिएर सडकभन्दा अन्दाजी ७० मिटर तल खसेको थियो । ट्रली छुट्टिएर सडकबाट खसे पश्चात ट्रलीमा रहेका तीनजना घाइते भएका हुन् । घाइते तीनैजनाको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटना पश्चात् ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।