खोलाले बगाउदा निगुरो टिप्न गएकी किशोरीको मृत्यु
ओखलढुङ्गान्युज, असोज ९ प्राप्चा । निगुरो टिपेर फर्कने क्रममा खोलाले बगाउदा ओखलढुङ्गाको मोलुङमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौर बस्ने लाक्पा शेर्पाको १४ बर्षिया छोरी निमडोमा शेर्पा रहेकी छन् ।
किशोरी शेर्पा बुधबार दिउँसो छिमेकी खिजिदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिकाको सिमानामा रहेको एलुङ खोलापारी एलुङ खोलाको पाखामा निगुरो टिप्न गएकी थिईन् । निगुरो टिपेर खोला तर्ने क्रममा शेर्पालाई अचानक खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
बेपत्ता भएकी किशोरी शेर्पालाई स्थानीयले खोजी गर्ने क्रममा अन्दाजी १ किलोमिटर तल खिजिदेम्बा गाउँपालिका तर्फको एलुङ खोलाको किनारामा घोप्टो परेको र मृत अबस्थामा फेला पारेको भनि स्थानीयले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानूनी प्रकृया पूरा गरि शबको पोष्ट मार्टमका लागि रुम्जाटार पठाई ओखलढुङ्गा प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको समेत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।