आज आश्विन कृष्ण औंशी, सूर्य ग्रहण लाग्दै
ओखलढुङ्गान्युज, अशोज ५ काठमाण्डौं । आज आश्विन कृष्ण औंशी । आजैबाट यो वर्षको सोह्र श्राद्ध पनि सकिदैछ । आजबाट हिन्दू नेपालीहरुको घरघरमा लगभग महान् चाड दशैं लगभग भित्रिएको छ ।
आज यो वर्षको पहिलो पटक सूर्य ग्रहण पनि लाग्दैछ । तर आज लाग्ने सूर्य ग्रहण नेपालबाट भने देखिने छैन । आजको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।
सोह्र श्राद्धको अन्तिम दिन आज औंशी भएपनि सूर्य ग्रहण लाग्ने भएपछि सुतक बार्नु पर्ने भएकोले पितृको श्राद्ध गर्नुहुन्छ कि हुन्न भन्ने विषयमा दुबिधा उत्पन्न भैरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने आजको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने र सोह्र श्राद्ध गर्न हुने जनाएको छ ।
यो सूर्य ग्रहण नेपाली आकाशमा नदेखिने भएकोले ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा भट्टराईले जानकारी दिए।