नेपाली समय Loading...२०८२ भाद्र २८ शनिबार

सेनाको गोली लागेर रामेछापमा तीन कैदीबन्दीको मृत्यु

ओखलढुङ्गान्युज, भदौ २६ काठमाडौँ । नेपाली सेनाले चलाएको गोली लागेर रामेछापमा कारागारका तीनजना कैदीबन्दीको मृत्यु भएको छ । बिहिबार बिहान कारागार तोडेर भाग्न खोजेका कैदीबन्दी माथि सेनाले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो ।

मङ्गलबार काठमाडौँको नक्खु कारागार लगायत अन्य जिल्लाबाट समेतबाट कैदीबन्दी छाडेको भन्दै आफूहरुलाई पनि रिहा गर्न माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी तथा तोडफोड गरेका थिए । कारागारमा तोडफोड गरेर भाग्ने प्रयास गर्दा प्रहरीले नियन्त्रण गर्न नसकेपछि उक्त स्थानमा रामेछापबाट नेपाली सेनाको टोली पुगेको थियो । नेपाली सेनाले स्थिति नियन्त्रण गर्न गोली चलाएको थियो ।

गोली चलाएर घाइते भएका कैदीबन्दीहरूलाई रामेछाप अस्पतालमा उपचारका लागि पठाइएको छ । उपचारका लागि पठाइएका घाइतेमध्ये तीन जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । घाइते केही कैदीबन्दीको अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

घटनापछि जिल्ला कारागार रामेछापमा प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षाको निकायको टिम कारागारमा पुगेको छ । कारागारमा नेपाली सेनाले गोली चलाएर स्थितिलाई भने नियन्त्रणमा लिएको जनाएको छ । रामेछापमा योबेला भीषण पानी परिरहेकोले विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।