सेनाको गोली लागेर धादिङमा दुई कैदीको मृत्यु, सात घाइते
ओखलढुङ्गान्युज, भदौ २५ काठमाडौँ । नेपाली सेनाले चलाएको गोली लागेर धादिङ कारागारका दुईजना कैदीबन्दीको मृत्यु भएको छ । बुधबार दिउँसो कारागार तोडेर भाग्न खोजेका कैदीबन्दी माथि सेनाले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो भने ७ जना घाइते भएका छन् ।
मङ्गलबार काठमाडौँको नक्खु कारागारबाट अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । कारागारमा आगालागि गर्दै भाग्न खोजे पश्चात उनीहरूलाई नियन्त्रण गर्न नेपाली सेनाले पानीको फोहरा प्रहार गरेको थियो । सेनाले पानीको फोहरा प्रयोग गरेर रोक्न खोजेपछि कैदीबन्दीले सेनाको टोलीमाथि नै आक्रमण गर्न थालेका थिए । सुरक्षामा खटिएका सेनाको टोलीलाई नै आक्रमण गर्न थालेपछि सेनाले गोली प्रहार गरेको थियो । गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको हो ।
कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रण गर्ने क्रममा अन्य सातजना कैदीबन्दी घाइते भएका छन् भने ७ जना जनपथ र सशस्त्र प्रहरी बलका जवानहरू घाइते भएका थिए । घाइते भएका सुरक्षाकर्मीको टिमको अवस्था सामान्य छ । घटनामा परेका सातजना कैदीबन्दीलाई भने उपचारको लागि काठमाडौँ ल्याइएको नेपाली सेनाले जनाएको छ ।
गोली चलाउनुअघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथि नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । धादिङ जिल्ला कारागारमा हाल नौ महिलासहित २४३ जना कैदीबन्दी रहेका छन् ।

