लघुउद्यमीलाई विना धितो ऋण प्रबाह गराउन नगरपालिकाले छलफल गर्ने

ओखलढुङ्गान्युज, भदौ २१ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकामा रहेका महिला उद्यमीहरुलाई विना धितो ऋण प्रबाहका लागि नगरपालिकाले बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्ने भएको छ । विहिबार सिद्धिचरण नगरपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागी महिलाहरुले स्थानीय तहमा रहेर लघुउद्यम सञ्चालन गर्न धितो विना बैंक तथा वित्तिय संस्थाहरुले ऋण उपलब्ध नगराउदा आफूहरुलाई समस्या भएको बताएका थिए । आफूहरुसँग अन्य आयआर्जनको श्रोत तथा माध्यम पनि नभएको र आफूसग भएको शीपलाई कार्यान्वयन गरेर लघु उद्यम सञ्चालन गर्न पू्ँजीको अभावले समस्या बनाएको भन्दै विना धितो ऋण प्रबाहका लागि बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरिदिन सहभागीहरुले सिद्धिचरण नगरपालिकाका प्रमुख मेयर तेजन खनाललाई अनुरोध गरेका थिए ।

महिलाहरुको उक्त गुनासोलाई सम्बोधन गर्दै नगर प्रमुख मेयर खनालले आफूले तत्काल बैंक तथा वित्तिय संस्थाहरुसँग छलफल गरि लघुउद्यम सञ्चालन गर्न ईच्छुक महिला उद्यमीहरुलाई कसरी विना धितो ऋण उपलब्ध गराउन सकिन्छ भनेर छलफल गर्ने प्रतिबद्धता जनाएका हुन् । नगर प्रमुख मेयर खनालले यहि विषयमा गत वर्षको सार्वजनिक सुनुवाईमा समेत आफूले प्रतिबद्धता गरेर एक पटक छलफल समेत गरेको बताए । तर उक्त छलफलले मूर्त रुप पाउन नसकेको भन्दै तत्काल छलफल गरेर निश्कर्ष निकाल्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासा र गुनासोलाई सम्बोधन गर्दै सरोकारवालाहरुले चालु आर्थिक वर्षबाट नगरपालिका तथा मोलुङ गाउँपालिकाका सबै वडाहरुमा विनियोजना भएका योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न वडा वडामा गएर उपभोक्ता समिति गठन गर्ने शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले योजना तर्जुमाका कार्यक्रम सञ्चालन गर्दा धेरै भन्दा धेरै नागरिकहरुको सहभागीता गराउन समयमा नै विभिन्न सञ्चारमाध्यम मार्फत नागरिकहरुलाई खबर गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
त्यस्तै, नेपाल सरकारले पहिलो विन्दुमा रहेर स्वास्थ्य विमा गरेका विरामीको उपचार पश्चात दोश्रो विन्दुमा रिफर गरिएका विरामीको सामुदायीक अस्पताल सोव्रुले उपचार गर्न नमान्दा नागरिकहरुलाई समस्या भएको भन्ने गुनासोका सन्दर्भमा पनि तत्काल नगरपालिकाको तर्फबाट अस्पतालसँग समन्वय र छलफल गरि समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरुले उठाएको जिज्ञासा तथा गुनासोलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मेयर तेजेन्द्र खनाल, उपप्रमुख केदारबाबु बस्नेत, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपाने, मोलुङ गाउँपालिकाका उपाध्यक्ष उर्मीला खतिवडा, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्की, सिद्धिचरण नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङ लगायतले जवाफ दिएका थिए ।
स्थनीय सरकारले सञ्चालन गरेको लैङ्गिक उत्तरदायी र विपद जोखिम न्यूनिकरण सम्बन्धीको बजेट कार्यान्वयनको अबस्थाका बारेमा परिवर्तशील महिला सामुदायीक संस्थाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो ।

