अज्ञात रोगका कारण सुनसरीको कारागारमा तीन कैदीबन्दीको मृत्यु

ओखलढुङ्गान्युज, भदौ २१ विराटनगर । कारागारमा अज्ञात रोग फैलदा सुनसरीमा तीन कैदीको मृत्यु भएको छ । सुनसरीको झुम्कामा रहेको कारागारमा अज्ञात रोगका कारण चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको हो ।
कारागारमा रहेका कैदीबन्दीहरुमा एक्कासी उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएको थियो । आकस्मिक विरामी भएका ती कैदीबन्दीहरुको उपचारको क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए ।
प्रहरी प्रमुख एसपी तिम्सिनाका अनुसार पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ । बिरामी भएपश्चात उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । यादवको अस्पतालमा नै मृत्यु भएको प्रहरी प्रमुख एसपी तिम्सिनाले जानकारी दिए । उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
यसअघि गत भदौ १५ गते सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र १६ गते धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो । उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका थिए।अहिले उच्च ज्वरोको समस्या देखीएका १३ जना कैदीवन्दीको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।

