फेसबुक तथा ट्विटर लगायत सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
ओखलढुङ्गान्युज, भदौ १९ काठमाडौँ । सरकारले छैठौँपटक दिएको समय सीमा सकिँदा समेत दर्ता प्रक्रियामा नआएपश्चात सामाजिक सञ्जाल फेसबुक ट्विटर लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने नेपाल सरकारले निर्णय गरेको छ । सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन तथा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज बिहिबार उक्त निर्णय गरेको हो ।
सरकारले उक्त निर्णय गरेसँगै प्रतिबन्ध गरिएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्रचार गरेको जनाएको छ । सर्वोच्च अदालतले गरेको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयले आज सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
सूचना तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेपनि सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमश खोलिदिने समेत निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओटिटी एप्स लगायत इन्टरनेट ब्राउजरबाट विज्ञापन सहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो ।
