मिडियासँगको सहकार्यमा प्राथमिकता दिन्छु ः प्रमुख जिल्ला अधिकारी मंग्राती

ओखलढुङ्गान्युज, भदौ १८ ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले मिडियाको टिमसँग मिलेर आफू अघि बढ्ने बताएका छन् । जाजरकोटबाट सरुवा भएर ओखलढुङ्गामा केहिदिन अगाडी मात्रै आईपुगेका प्रमुख जिल्ला अधिकारी मंग्रातीले आज पत्रकारहरुसँगको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
परिचयात्मक अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मंग्रातीले समाजमा सकारात्मक सन्देश दिदै समाज परिवर्तनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहने भन्दै मिडियासँगको सहकार्यमा प्राथमिकता दिने बताएका हुन् । जिल्लामा शान्ति सुरक्षाको कुरा प्रधान रहेको भन्दै शान्ति सुरक्षालाई कायम राख्दै लागू औषधको नियन्त्रणलाई समेत ध्यानमा लिइ अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । आफू ओखलढुङ्गामा रहेसम्म कुनै पनि नागरिकहरुलाईै सूचना विहिन नबनाउन सूचनाको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने समेत प्रतिबद्धता व्यक्त गरे ।
परिचयात्मक अन्ततरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मंग्रातीले मिडियाको नजरमा जिल्लाको अबस्था र सकारात्मक सुधारका लागि आफूले गर्नुपर्ने कामका विषयमा समेत सुझाब लिएका थिए । सो अबसरमा उपस्थित पत्रकारहरुले जिल्लाको अबस्था र सुधार गर्नुपर्ने विषयमा सुझाब दिएका थिए । पत्रकारसँगको परिचयात्मक अन्तरक्रिया कार्यक्रम अगाडी जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधीहरुसँग समेत परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थिए ।

