जनयुद्धका महान सहिद संजोगको शालिक अनावरण

ओखलढुङ्गान्युज, भदौ १८ ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिकामा जनयुद्धका महान सहिद संजोगको सालिक अनावरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभाका निवर्तमान सांसद एवं अर्थ समिति सभापति मोहनकुमार खड्का ‘हिमशिखर’ले अनावरण गरेका हुन् ।

शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले सशस्त्र जनयुद्धका क्रममा आफ्नो जीवनको बलिदानी दिने शहिदहरू प्रति सम्मान प्रकट गर्दै उहाँहरूको बलिदानीलाई आफूहरुले कहिले नभुल्ने बताएका थिए । सम्बोधनका क्रममा खड्काले जनयुद्धका सिपाही मान बहादुर पुलामी मगर (सुधार) तथा आमा कालीमाया मगरको छोरा सहिद होमबहादुर पुलामी मगर (संजोग) को योगदानको बारेमा चर्चा समेत गरेका थिए ।

ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटारमा कक्षा १२ मा अध्ययन गर्दै गरेका संजोग २०५८ सालको साउन २९ गते तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्दमा पूर्णकालीन सदस्य बन्दै होमिएका थिए । सशस्त्र द्वन्द्वमा होमिएका मगर कम्पनी सहकमान्डर हुँदै युद्धको मोर्चा सम्हाल्ने क्रममा २०६१ साल वैशाख २६ गते बन्दीपुरमा भएको आक्रमणमा ज्यान गुमाउन पुगेका थिए ।
लिखु गाउँपालिका वडा नम्बर ६ खाल्टेमा रहेको भदौरे चौतारामा सहिद संजोगको सालिक अनावरण गरिएको हो । महान् सहिद संजोगका परिवारको लगानीमा चौतारोमा सालिक निर्माण गरेर अनावरण गरिएको हो । शालिक अनावरणका लागि नेकपा माओवादी केन्द्र लिखु गाउँपालिका उपाध्यक्ष एवं लिखु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले समन्वय गरेका थिए । शालिक अनावरण कार्यक्रममा वडा अध्यक्ष क्याप्छाकी मगर सँगै लिखु गाउँपालिका ओखलढुङ्गाका उपाध्यक्ष अस्मिता थापाले समेत सम्बोधन गरेकी थिइन् ।
तत्कालीन नेकपा माओवादीले चलाएको महान् जनयुद्धका क्रममा गानाङटारबाट संजोग लगायत पाँचजनाले जीवनको बलिदानी गरेका थिए ।
