नेपाली समय Loading...२०८२ माघ २४ शनिबार

बाल यौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ 

ओखलढुङ्गान्युज, भदौ १५ ओखलढुङ्गा । बाल यौन दुरुपयोग मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ९ स्थायी घर भएका वर्ष २६ का विजय राई रहेका छन् ।

बाल यौन दुरुपयोग गरेको अभियोगमा जिल्ला अदालत ओखलढुङ्गाले फैसला तोके पछि फरार रहेका अभियुक्त राईलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोलीले झन्डै दुई वर्ष पछि पक्राउ गरेको हो । अभियुक्त राईलाई गत भदौ १२ गते बिहीबार भक्तपुर जिल्लाको ठिमी नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

पक्राउ परेका राईलाई जिल्ला अदालत ओखलढुङ्गाले २०८० माघ १४ गते बाल यौन दुरुपयोग गरेको मुद्दामा दुई महिना १५ दिनको कैद हुने फैसला गरेको थियो । फैसला पश्चात् अभियुक्त राई फरार रहेका थिए । भक्तपुरमा पक्राउ गरिएका राईलाई ओखलढुङ्गा जिल्लामा ल्याएर कैद भुक्तानका लागि जिल्ला कारागार ओखलढुङ्गामा चलान गरिएको पनि प्रहरीले जनाएको छ ।