नेपाली समय Loading...२०८२ भाद्र २८ शनिबार

शिक्षा विकास तथा समन्वय इकाईमा ओखलढुङ्गाका शिक्षकहरुको धर्ना

ओखलढुङ्गान्युज, भदौ १५ ओखलढुङ्गा । ओखलढुङ्गाका शिक्षकहरुले विभिन्न माग राख्दै आज जिल्ला शिक्षा तथा समन्वय ईकाई ओखलढुङ्गामा धर्ना दिएका छन् । नेपाल सरकारले जारी गर्न लागेको विद्यालय शिक्षा विधेयकमा समावेश हुनुपर्ने प्रावधान तथा अन्य व्यवस्थाका विषयमा आन्दोलनरत शिक्षकहरूले आज (आइतबार) ओखलढुङ्गा जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिएका हुन्।

गत चैत २० देखी २९ दिन सम्म चलेको आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले पुनः थालेका हुन् । गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा धर्नामा बसेर प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएका शिक्षकहरूले आइतबार समन्वय इकाईमा पनि धर्ना बसेर ध्यानाकर्षण बुझाएका हुन्।

२९ दिनसम्म काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन चलेपछि २०८२ वैशाख १७ मा नेपाल सरकार र महासङ्घबीच नौ बुँदे सहमति भएको थियो । २०८२ असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गराउने र उक्त ऐनमा शिक्षकका मागहरू सम्बोधन हुने भनिएको थियो । तर सहमति अनुसार सरकारले काम नगरेको भन्दै शिक्षक महसंघले पुनः आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेसँगै शिक्षकका पेसागत सङ्घ सङ्गठनहरू एकजुट भएर महासङ्घको नेतृत्वमा आन्दोलन सुरु भएको हो । जस अन्तर्गत आइतबार समन्वय इकाईको कार्यालयमा शिक्षकहरुले धर्ना दिएका हुन् ।