ओखलढुङ्गामा लडेर एक पुरुषको मृत्यु
ओखलढुङ्गान्युज, भदौ ५ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ५ बर्नालु सानीटारमा गोरेटो बाटोबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नम्बर ५ सानिटार बस्ने वर्ष ५२ को एकराज मग्राती रहेका छन् ।
स्थानीय वर्णालुबाट मासु बोकेर घर फर्कने क्रममा घर नजिकै रहेको गोरेटो बाटोमा आज (विहिवार) दिउँसो करिब १ बजेतिर मगराती लड्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सबलाई जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।