झुण्डिएको अवस्थामा एक नाबालिकाको शब फेला
ओखलढुङ्गान्युज, भदौ ३ शेर्ना । जिल्लाको चिसंखुगढी गाउँपालिकामा एक नाबालिका दाम्लोमा झुन्डिएर मृत अवस्थामा फेला परेकी छन् । मृत फेला पर्नेमा चिसङ्खुगढी गाउँपालिका वडा नम्बर ८ माम्खा, पधेरो बस्ने मेखबहादुर राईको ३ वर्षीय छोरी मेरीका राई रहेकी छन् ।
नाबालिका राई छिमेकी अर्जुन राईको घरमा कोही नभएको अवस्थामा घरको दलानको थाममा काँटी ठोकेर झुण्ड्याइएको प्लास्टिकको नाम्लोको डोरीमा झुण्डिएको अवस्थामा निजको आमालाई फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । मङ्गलबार बिहान साढे १० बजेतिर डोरीमा झुन्डिरहेको छोरीलाई डोरीबाट निकालेर हेर्दा मृत्यु भएको अवस्थामा आमाले नै फेला पारेको भनी प्रहरीलाई खबर गरेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी शबलाइ पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।