लिखु र चम्पादेवीका स्थानीय सडकको अवरोध अझै जारी
लिखु गाउँपालिका २ र ३ जोड्ने कुवा पानी खोलाको सडकको अवस्था
ओखलढुङ्गान्युज, भदौ ३ ओखलढुङ्गा । केही दिन अगाडि परेको भीषण वर्षाका कारण आएको बाढीका कारण ओखलढुङ्गा जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश सडकहरूमा अझै अवरुद्ध जारी छ। भलबाडीका कारण सडक बिगारेको झण्डै चार दिन बितिसक्दा पनि स्थानीय सरकार मुखदर्शक बनिरहेको छ ।
पानी र भलका कारण अवरुद्ध बनेका आफ्ना वडाका सडकहरूमा कतिपय स्थानीय जनप्रतिनिधिहरूले आफै श्रमदान परिचालन गरी सडक सुचारु गराउने प्रयास गरेका छन् । तर जनश्रमदानले मात्र सञ्चालन गर्न नसक्ने सडकहरूमा भने स्थानीय सरकार मुकदर्शक बनेको हो ।

चम्पादेवी गाउँपालिका ६ र ९ जोड्ने डुडे खोलाको सडकको अवस्था
केही दिन अगाडि आएको भलबाडीका कारण अवरुद्ध रहेको सडकका कारण जिल्लाको लिखु गाउँपालिकाबाट काठमाडौँ जाने तथा भित्रने सवारी साधनहरु प्राय: ठप्प बनेका छन् । काठमाडौँबाट रामेछापको साँघुटार – सिंहदेवी हुँदै गाउँपालिका मुकाम पुग्ने बाटो अझै सञ्चालन हुन सकेको छैन । लिखु गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने कुवापानी खोलाले सडक बगाउँदा र स्थानीय सरकारले चासो नगर्दा बाटो सञ्चालन हुन नसकेको हो ।
त्यस्तै लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिका मार्फत साना सवारी साधन मार्फत ओखलढुङ्गा जाने र आउने यातायातका साधनहरु पनि प्राय ठप्प बनेका छन् । चम्पादेवी गाउँपालिकाको वडा नम्बर ६ र ९ जोड्ने खोलाले सडक बगाउँदा घोराखोरी मार्फत ओखलढुङ्गा जाने र ओखलढुंगाबाट घोराखरी आउने यातायातका साधनहरु अवरुद्ध बनेका हुन् । चम्पादेवी गाउँपालिकाको घोराखोरी बिलन्दु फुलबारी लगायतका क्षेत्रहरूमा समेत सडक अवरुद्ध रहेका छन् । सडक अवरुद्ध हुँदा लिखु तथा चम्पादेवीबाट सदरमुकामसम्म जाने र आउने नागरिकहरू मारमा परेका छन् ।
चम्पादेवी गाउँपालिकामा अवरुद्ध रहेको सडकहरू भने मङ्गलबार दिउँसोबाट सञ्चालन गर्ने गरी इस्काभेटर सञ्चालन गरी सडक मर्मत गरिरहेको चम्पादेवी गाउँपालिकाका प्रवक्ता सुजन पौडेलले जानकारी दिए ।