सामान बोकेर खोटाङ जाँदै गरेको ट्रक ओखलढुङ्गामा दुर्घटना हुँदा एक घाइते
ओखलढुङ्गान्युज, साउन ३० ओखलढुङ्गा । सामान बोकेर ओखलढुङ्गा हुँदै खोटाङ तर्फ जाँदै गरेको मालवाहक ट्रक ओखलढुङ्गामा दुर्घटना हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर १२ बस्ने २८ वर्षका वेदमान गोले रहेका छन् ।
पोखराबाट मध्य पहाडी लोकमार्ग हुँदै चाउचाउ लिएर खोटाङतर्फ जाँदै गरेको ना ६ ख ४९३४ नम्बरको ट्रक अचानक ब्रेक फेल भएर आज (शुक्रबार) दिउँसो २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । ब्रेक फेल भएर ट्रक मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ शोक्माटार भन्ने स्थानमा सडकबाट अन्दाजी १५० मिटर तल खसेको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
ट्रकका चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर १ बस्ने ३६ वर्षीय ताराबहादुर लोप्चन भने सकुशल रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते सहचालकको तत्काल उद्धार गरी उदयपुरको घुर्मीमा पठाइएको थियो । घाइते गोलेको हाल जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।