फरक क्षमता भएकी महिलालाई जबरजस्ती करणी, दुई पक्राउ
ओखलढुङ्गान्युज, साउन २९ ओखलढुङ्गा । फरक क्षमता भएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा ओखलढुङ्गा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका वडा नं ७ का ४५ वर्षका निमा शेर्पा र सोही स्थानका २९ वर्षीय लाक्पारिन्जी शेर्पा रहेका छन् ।
गत २०८१ सालको फागुन ११ गते ङिमा शेर्पाले ती महिलालाई सिद्धिचरण नगरपालिका ७ विगुटारको फन्दपुर देवीस्थान जङ्गलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यस्तै लाक्पा रिन्जी शेर्पाले पनि गत साउन ४ गते घरको कोठामा लगि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीमा उजुरी परेपश्चात उजुरीका आधारमा आरोपित दुवै जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ओखलढुङ्गामा उपस्थित गराई अनुसन्धानको लागि सात दिनको म्याद लिई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । हिरासतमा रहेका दुवै जनासँग सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।