बैंकिङ कसुर गरेको अभियोगमा रुम्जाटारका गुरुङ पक्राउ
ओखलढुङ्गान्युज, साउन २९ ओखलढुङ्गा । बैंकिङ कसुर गरेको अभियोगमा ओखलढुङ्गामा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका ठेकेदार शैलेन्द्र गुरुङ रहेका छन् ।
जिल्ला सदरमुकाममा लामो समयदेखी ब्यावसाय गर्दै आएका सुनकोशी १० का निलाराज पराजुलीले दिएको बैंकिङ कसुरको उजुरीका आधारमा ठेकेदार गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । ठेकदार गुरुङले आफ्नो ब्यावसाय गर्ने क्रममा पराजुलीको पसलबाट उधारो सामाग्री लिएर एनआईसी बैंकमा रहेको खाताको १५ लाखको चेक पराजुलीलाई दिएका थिए ।
तर गुरुङले दिएको चेकको रकम सटही गर्न बैंक खातामा पैसा थिएन । गुरुङले लामो समयदेखि खातामा रकम नै नभएको चेक पराजुलीलाई दिएर झुक्याएका थिए । पटक पटक बैंकमा गएर अनुरोध गर्दा समेत चेक नसाटिएपछि ठगी गरेको व्यहोरा उल्लेख गर्दै १५ लाख रकमको चेक नसाटिएको प्रमाणसहित पराजुलीले जाहेरी दिएका थिए । पराजुलीको उजुरीको पछि गुरुङलाई साउन २२ गते प्रहरीले रुम्जाटार घरैबाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालत ओखलढुङ्गाबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।