लिखुमा भिरबाट लडेर एक पुरुषको मृत्यु
ओखलढुङ्गान्युज, साउन २७ यसम । जिल्लाको लिखु गाउँपालिका वडा नं. ६ को झगरेभिरमा एक पुरुषको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका अन्दाजी ६०-६२ बर्षका तोरण बहादुर जोगी रहेका छन् ।
साउन महिनामा गाम्नाङ, टारकेराबारी तिर फिरी लगाएको सिदा लिएर फर्कने क्रममा जोगी लिखु ६ खाल्टे सम्म छोरासँगै थिए । छोराले घरमा जाम भन्दा आफु पछि आउने भन्दै छोरालाई घर पठाएका थिए । छोरा घर आएर २४ घण्टा वितिसक्दा पनि बाबु घर नफर्किएपछि मंगलबारबाट खोजी सुरु भएको थियो ।
खोजीका क्रममा खाल्टेका स्थानीयले झगरेभिरमा जोगीले बोकेको झोला, लौरो र चप्पल फेला परारे परिवारलाई खबर गरेका थिए । सामान भएको स्थान नजिकै खोजी गर्ने क्रममा जोगी भिरबाट लडेर करीब डेढ सय मिटर तल मृत अबस्थामा फेला परेका थिए ।
जोगी मृत फेला परेपछि परिवार, स्थानीय र स्थानीय प्रहरीको सहयोगमा शबलाइ मंगलबार अबेर राति भिरबाट निकालिएको थियो । स्थानीय प्रहरीको समन्वयमा शबलाइ पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा पठाएको लिखु ३ नर्मदेश्वरका जनप्रतिनिधि टेक बहादुर श्रेष्ठले जानकारी दिए ।
शबको थप कानूनी प्रकृया पुरा गराउनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईको नेतृत्वमा प्रहरीको टोली घटनास्थल तर्फ खटि गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।