ललाई फकाई किशोरीलाई यौन कृयाकलापमा लगाउन खोज्ने महिला पक्राउ
ओखलढुङ्गान्युज, साउन २५ ओखलढुङ्गा । ललाईफकाई एक किशोरीलाई यौन कृयाकलापमा लगाउन खोजेको आरोपमा ओखलढुङ्गामा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ५ की ३३ बर्षिया प्रमिला विश्वकर्मा रहेकी छन् ।
पक्राउ परेकी विश्वकर्माले स्थानीय १३ बर्षिया किशोरीलाई यौन क्रियाकलापमा लगाउन फकाउने, दबाब दिने तथा धम्क्याउने कार्य गरेको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । विश्वकर्मालाई २१ गते जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि पाँचदिनसम्म हिरासतमा राखिएको र अनुसन्धान भैरहेको प्रहरी प्रमुख केसीले जानकारी दिए ।
पक्राउ परेकी विश्वकर्माले आफ्नो हाकिमलाई खुशी बनाउनका लागि हाकिमसँग यौन सम्पर्क गर्न प्रलोभनसँगै दबाब दिएको अडियो रेकर्ड अहिले समाजिक सञ्जालमा फैलिएको छ । उनी जिल्ला खेलकुद विकास समितिमा कार्यरत कार्यालय सहयोगी हुन् । स्थानीय विद्यालयमा अध्ययनरत १३ बर्षिया किशोरीलाई विश्वकर्माले फोन गरेर दबाब दिएपछि किशोरीले फोनकल रेकर्ड गरेकी थिईन् । अडियो कल रेकर्ड गरेर विद्यालयका शिक्षकहरुलाई सुनाएपछि शिक्षकहरुको सहयोगमा किशोरीले प्रहरीमा उजुरी गरेकी थिईन् ।
उजुरीको आधारमा विश्वकर्मालाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।