नेपाली समय Loading...२०८२ भाद्र ४ बुधबार

आज रक्षाबन्धन, जनै पूर्णिमा र क्वाटी खानेदिन

ओखलढुङ्गान्युज, साउन २४ ओखलढुङ्गा । आज श्रावण शुक् पूर्णिमा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाईने रक्षा बन्धन, जनै पूर्णिमा आज धारण गरेर मनाईदैछ ।

आज पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । तागाधारीले आजको दिन श्रावणी स्नान गर्ने परम्परा पनि छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ।

आज क्वाँटी खाने दिन

आज क्वाँटी आने दिन पनि हो । जनै पूर्णिमाका दिन नै एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता समेत रहि आएको छ ।