कक्षा १२ को नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने नतिजा ?
ओखलढुङ्गान्युज, साउन १९ ओखलढुङ्गा । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि परीक्षा बोर्डको अहिले बैठक बसिरहेको छ ।
बैठक सकिए लगत्तै परीक्षाको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डले तयारी गरेको हो । गत बैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।
कसरी हेर्न सकिन्छ परीक्षाको नतिजा ?
राष्ट्रिय परीक्षा बोर्ड श्रोतका अनुसार यो वर्षको कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिस मार्फत थाहा पाउन सकिने छ । परीक्षाफल प्रकाशित भएपश्चात परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यसैगरी एसएमएस सेवा अन्तर्गत NEB स्पेस Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।