नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

ओखलढुङ्गाका स्थानीय तहले गरे विविध शीर्षक मै अनियमित लाखौ खर्च

ओखलढुङ्गान्युज, साउन १८ ओखलढुङ्गा ओखलढुङ्गा जिल्लाका आठ ओटै स्थानीय तहले विविध खर्च शीर्षकमा लाखौको खर्च गरेको पाईएको छ । आर्थिक वर्ष २०८०/८१ मा विविध खर्च शीर्षकमा लाखौ खर्च गरेको  र जुन खर्च गाउँपालिकाको आयको परिधि भित्र नरही खर्च गरिएको महालेखा परिक्षकको कार्यालयले दिएको प्रतिवेदनमा उल्लेख छ ।

मलेपको प्रतिवेदन अनुसार ओखलढुङ्गाका आठ स्थानीय तह मध्ये विविध शीर्षकमा मितव्ययी अर्थात कम खर्च गर्ने गाउँपालिकामा सुनकोशी प्रथम, लिखु दोश्रो स्थानमा रहेको छ । सबैभन्दा बढी खर्च गर्ने गाउँपाकिलामा भने चम्पादेवी गाउँपालिका पहिलो र चिशंखुगढी गाउँपालिका दोश्रो स्थानमा रहेको छ ।

मलेपको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा चम्पादेवी गाउँपालिकाले विविध खर्च शीर्षकमा मात्रै ५३ लाख २० हजार ९२१ तथा दुईओटा गाउँसभा सञ्चालन गर्न ९ लाख ४७ हजार ९९९ गरि कूल ६२ लाख ६८ हजार ९२० रुपैया खर्च गरेको छ । चिशंखुगढी गाउँपालिकाले पनि विविध शीर्षकमा ३६ लाख ८६ हजार र गाउँसभा सञ्चालन गर्न १० लाख गरि कूल ४६ लाख ८६ हजार खर्च गरेको छ ।

बेरुजुको लिष्टमा निकै चर्चामा रहेको सुनकोशी गाउँपालिका ओखलढुङ्गाले विविध शीर्षकको खर्चमा जिल्लाका अन्य स्थानीय तहहरुले गरेको खर्चको तुलनामा कम खर्च गरेको छ । सुनकोशी गाउँपालिकाले गाउँसभा सञ्चालन सहित समाबेश रहेको बिबिध शीर्षकको खर्चमा जम्मा १२ लाख ७० हजार ६४५ रुपैया खर्च गरेको छ । कम खर्च गर्ने गाउँपालिकाको दोश्रो नम्बरको लिष्टमा रहेको लिखु गाउँपालिकाले विविध खर्च शीर्षकमा १० लाख ८१ हजार ७५५ रुपैया तथा दुईओटा गाउँसभा सञ्चालनमा २ लाख ६९ हजार ४६० गरि कूल १३ लाख ५१ हजार २१५ खर्च गरेको उल्लेख छ । तर गाउँसभामा कतिजनाले खाजा तथा खाना खाए भनेर लिखु गाउँपालिकाले विवरण भने उल्लेख नगरेको पनि मलेपले जनाएको छ ।

त्यस्तै मलेपको प्रतिवेदन अनुसार विविध खर्च बढी गर्ने गाउँपालिकाको तेश्रो नम्बरको लिष्टमा मानेभञ्ज्याङ गाउँपालिका रहेको छ । मानेभञ्ज्याङ गाउँपालिकाले विविध खर्चको शीर्षकमा ३२ लाख २७ हजार २८४ तथा सभा सञ्चालनमा २ लाख ३१ हजार ४७० गरि ३४ लाख ५८ हजार ७५४ रुपैया खर्च गरेको छ । चौंथो नम्बरमा रहेको सिद्धिचरण नगरपालिकाले २९ लाख ४८ हजार १२७ रुपैया विविध खर्च शीर्षकमा खर्च गरेको छ । नगरपालिकाले नगरसभा सञ्चालनमा १ लाख ७४ हजार ४४२ रुपैया खर्च गरेको छ । नगरपालिकाले कार्यपालिकाको बैठकमा सहभागीको खाना खाजामा १ लाख २३ हजार ६५० रुपैया खर्च गरेको मलेपले जनाएको छ ।

त्यस्तै जिल्लाको आठ स्थानीय तह मध्ये कम बेरुजु रहेको गाउँपालिकाको सूचिमा पहिलो स्थानमा रहेको मोलुङ गाउँपालिकाले पनि विविध खर्च शीर्षकमा ३४ लाख ३९ हजार ३६१ रुपैया खर्च गरेको छ । मोलुङले विविध शीर्षकमा २८ लाख ३३ हजार १९२ र गाउँसभा सञ्चालनमा ६ लाख ६ हजार १६९ रुपैया खर्च गरेको छ । मोलुङमा रहेको आठ ओटा वडाले नै प्रत्येक वडामा १ लाख २० हजारका दरले ९ लाख ६० हजार विविध शीर्षक खर्च गरेका छन् । मोलुङ गाउँपालिकाले विविध शीर्षकमा गरेको खर्च आफ्नो आन्तरिक आयको १.६० गुणा बढी खर्च रहेको पनि मलेपले जनाएको छ ।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाले पनि विविध खर्च शीर्षकमा १८ लाख ६७ हजार २६६ रुपैया खर्च गरेको छ । खिजिदेम्बाले विविध शीर्षकमा १५ लाख १७ हजार ९१० तथा सभा सञ्चालनमा ३ लाख ४९ हजार ३५६ रुपैया खर्च गरेको छ । खिजिदेम्बा गाउँपालिकाले गरेको विविध शीर्षकको खर्चमा होटल पसलको बील मात्र रहेको तर के, कुन कार्यक्रममा कति कति खर्च भएको भनेर कुनै प्रमाण उपलब्ध नगराएको मलेपले उल्लेख गरेको छ ।