कोशी प्रदेशको नाम परिमार्जन हुने
ओखलढुङ्गान्युज, साउन १७ विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नाम परिमार्जन गर्ने भएको छ । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशको नाम परिमार्जन गर्ने निर्णय गरेको छ । प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले नाम परिमार्जन गर्ने निर्णय गरेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । पहिलेको नाम प्रदेशसभाले पास गरेको ऐन बमोजिम ठ्याक्कै मिल्ने गरी नदेखिएको हुँदा यसमा केही संशोधन जरुरी भएकाले अबदेखि कोशी प्रदेश सरकार विराटनगर नेपाल नामाङ्करण गर्नेगरी निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए । यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो ।
बैठकले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसर पारेर लागु गर्ने गरी भाषा सम्बन्धि कानुन निर्माण गर्ने निर्णय गरेको छ । भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हो।
विधेयक पारित भएपछि प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बु भाषा र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउनेछन् । महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर आगामी कात्तिक २५ गतेबाट उक्त कानुन कार्यान्वयनमा जाने मन्त्री भण्डारीले जानकारी दिए ।