ओत बसेको रुख ढलेर किच्दा सिन्धुलीमा दुईको मृत्यु, तीन घाईते
ओखलढुङ्गान्युज, साउन १६ सिन्धुली । शुक्रबार दिउँसो ओत बसको रुख ढलेर किच्दा सिन्धुलीमा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. १ बस्तिपुरका ९ वर्षका सार्की थिङ र १६ वर्षकी सन्ता गोले रहेकी छन् ।
शुक्रबार दिउँसो ठूलो पानी परेपछि पाँचजना बालबालिकाहरु गाउँको छेउमा रहेको टौवामा ओतलाग्न पुगेका थिए । पानी परिरहेको बेला ओत लागेर बस्दा शुक्रबार दिउँसो साँढे तीन बजेतिर अचानक टौवा माथिको सालको ठूलो रुख ढलेर बालबालिकालाइ किच्न पुगेको थियो । रुखले किचेर दुईजनाको घटनास्थलमा नै मृत्यु भएको र तीन जना भने घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
साथिहरुसँगै ओत लागेर टौवामा बसेका १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइतेमध्ये सिर्जना र सन्ध्याको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको तथा सुशील थिङको भने पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा उपचार भैरहेको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।