सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ जना बेपत्ता
ओखलढुङ्गान्युज, साउन १२ सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा शोमबारबाट एकै परिवारका १६ जना एकैपटक बेपत्ता भएका छन् । एकै परिवारका सबैजना एकैपटक गाउँबाट नै बेपत्ता भएपछि प्रहरीको टोलीले उनीहरुको खोजतलास सुरु गरेको छ ।
जिल्लाको गोलन्जोर गाउँपालिका वडा न ६ छेत्पा नजिक भण्डास विब्पर कटेरी भन्ने स्थानमा उर्मीला हायूको १६ जनाको संयुक्त परिवार बस्दै आएका थिए । शोमबार विहानैबाट हायूको परिवार नै गाउँवाट बेपत्ता भएको भनेर स्थानीयले प्रहरीलाई जानकारी गराएपछि हायूको घरमा नै पुगेर उनीहरुको खोजी तथा अनुसन्धान कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
स्थानीयले जानकारी गराउनासाथ प्रहरीको टोली हायूको घरमा पुगेको थियो । हायूको घरमा उनीहरुले पालेका कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको तथा परिवारका कोही सदस्य पनि घरमा नभएको पाईएको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए । प्रहरी हायूको घरमा पुग्दा उनीहरुको घरमा सामान्य क्षति भएको समेत पाइएको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।
बेपत्ता भएका हायूका परिवारको बारेमा स्थानीय नागरिक तथा जनप्रतिनिधिहरुसँग बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।