माग पूरा नहुने संकेतपछि राहत शिक्षकको आन्दोलनको घोषणा
ओखलढुङ्गान्युज, साउन १२ काठमाण्डौं । नेपाल राहत शिक्षक राष्ट्रिय समितिले आफूहरुको माग पूरा हुने नदेखेपछि देशब्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकका मागहरू समावेश नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिदै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेपाल राहत शिक्षक राष्ट्रिय समितिको तर्फवाट आइतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले राहत शिक्षकहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराई पेशागत निरन्तरता दिनु पर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै समितिका महासचिव जीवन तिमिल्सिनाले अनिवार्य वा स्वेच्छिक अवकाश लिने राहत शिक्षकका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्नुपर्ने माग गरे।
पत्रकार सम्मेलनमा महासचिब तिमिल्सिनाले विद्यालयहरुमा रहेको खाली राहत दरबन्दीलाई स्वतः स्विकृत दरबन्दीमा परिणत गर्नुपर्ने, त्यसमा खुला प्रतिष्पर्धावाट शिक्षकको पदपूर्ति गरिनुपर्नेबताए । शिक्षक सेवा आयोगका सबै खुला प्रतिष्पर्धाहरुमा कार्यरत राहत शिक्षकका लागि उमेर सीमा हटाएर सहभागी हुने ब्यबस्था गरिनुपर्ने समेत महासचिब तिमिल्सिनाले माग गरे । राहत शिक्षकका मुद्दालाई शिक्षा ऐनमा समाजेश गराउन महासंघमार्फत सरकारलाई दबाब दिने समेत उनले बताए । आफूहरुको मागलाई ध्यान नदिए राहत शिक्षकले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो ।
शिक्षक महासंघले राहत शिक्षकको पक्षमा आवाज नउठाएमा र विधेयकमा व्यवस्थापन नगरेमा देशभर सरकार प्रमुखको पुत्ला दहन गर्ने, विधेयकको प्रतिलिपि जलाउने, विधेयक पास भएको भोलिपल्ट कालोपट्टी बाँधेर पढाउने तथा शिक्षक महासंघको नाममा एक छाक नुन बार्ने लगायत आन्दोलनका कार्यक्रम समेत समितिले घोषणा गरेको छ ।